नियम १९
दल तथा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने
(१) आयोगले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनको लागि दललाई निर्वाचन चिन्ह प्रदान गर्दा नियम १८ बमोजिम त्यस्तो दललाई निर्धारण गरिएको निर्वाचन चिन्ह प्रदान गर्नु पर्नेछ ।
(२) निर्वाचन अधिकृतले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनमा दलको उम्मेदवारलाई नियम १८ बमोजिम त्यस्तो दललाई निर्धारण गरिएको निर्वाचन चिन्ह प्रदान गर्नु पर्नेछ ।
(३) निर्वाचन अधिकृतले स्वतन्त्र उम्मेदवारलाई आयोगले नियम १८ बमोजिम स्वतन्त्र उम्मेदवारका लागि निर्धारण गरेको निर्वाचन चिन्हको समूहबाट निर्वाचन चिन्ह प्रदान गर्नु पर्नेछ ।
(४) निर्वाचन अधिकृतले उपनियम (३) बमोजिम निर्वाचन चिन्ह प्रदान गर्दा त्यस्ता उम्मेदवारलाई निर्वाचन चिन्ह रोज्न लगाई उम्मेदवार वा निजको प्रतिनिधिको रोहवरमा प्रदान गर्नु पर्नेछ ।
तर निर्वाचन चिन्ह प्रदान गर्दा उम्मेदवार वा निजको प्रतिनिधि उपस्थित नभएको कारणबाट यस नियम बमोजिम निर्वाचन चिन्ह प्रदान गर्ने कार्यमा बाधा पुगेको मानिने छैन ।
(५) उपनियम (४) बमोजिम निर्वाचन चिन्ह रोज्न लगाउँदा एकभन्दा बढी उम्मेदवारले एउटै निर्वाचन चिन्ह रोजेमा त्यस्तो उम्मेदवारको नामको नेपाली वर्णानुक्रमको आधारमा प्राथमिकता दिई निर्वाचन चिन्ह प्रदान गर्नु पर्नेछ ।
(६) निर्वाचन अधिकृतले यस नियम बमोजिम निर्वाचन चिन्ह प्रदान गरेको सूचना आफ्नो कार्यालयमा प्रकाशन गरी सो सूचनाको एकप्रति आयोगमा तुरुन्त पठाउनु पर्नेछ ।